– के छ खबर , के गर्दै हो यार आज भोली??
– बाहिर ( बिदेश) जाने प्रयासमा छु यार । नेपाल बसेर केही हुन्छ जस्तो लाग्दैन । सबै देश नेताले खाई सके ।
आम प्रश्नको आम ऊत्तर हो यो । हामी युवाहरु मध्य धेरैले कुनै न कुनै तरिकाले आफ्नो मित्रहरुलाई दिएको वा पाएको ऊत्तर हो यो ।
म एक युवा हु । देशले अब मुहार फेर्छ भन्ने आश गरेको मेरो पुस्ताले मात्र हैन , पछिल्लो थुप्रै पुस्ताको अनुभब हामीले सुनेका र पढेका छौ, जस्ले मुलुकलाई अघि बढाउन आफुलाई त्यागेका छन । ती त्यागहरुको उदेश्य पक्कै पनि कुनै ब्यक्ति वा राजनितिक पार्टीलाई सत्तामा पुर्याउने मात्र थिएन ,म विश्वस्थ छु । धेरै कुरा बुझ्दिन होला तर सरसर्ती हेर्दा जे देखीन्छ त्यो राम्रो वा नराम्रो भईरहेको छ चै भन्न सक्छु ।तिनै आफुलाई लागेका कुराहरुलाई लेखेको छु ।
राजनितिक ऊथल पुथल र सत्ताको खेलले गर्दा मुलुक चारै तिर बाट भासिदै छ । बिकासका काम अधि बढ्न सकेका छैनन , युवा जन सक्तिले देश छाड्ने क्रम बढ्दै छ । ब्यपार ब्यवसायमा लगानी गर्ने बतावरण छैन , दक्ष जनसक्ति उत्पादन हुन सकेका छैन, मुलुक आयतमा परनिर्भर (असन्तुलित आयात निर्यातको चपेटामा छ ) छ । यि देखिने केहि ऊदाहारण मात्र हुन यस्ता अनेक समस्याले पिरोलेको छ अहिलेको अवस्थामा नेपाललाई । देशमा आइ पर्ने अनेकन समस्याले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी जनतालाई नै पिरोल्ने गरेको छ । समस्याहरुमा समस्या थपिने क्रम बढ्दो छ । अहिलेको परिशथितिमा कुरा गर्ने हो भने लगातार भईरहेको राजनितिक ऊथलपुथलले हामी जस्तो युवामा निरासा छाएको छ । निरासा छाएको यो पहिलो पटक भने हैन तर अन्तय कहिले हुन्छ भन्ने प्रश्न सबैको मनमा छ । यो माथीको सबै कुराहरु निरासाको प्रतिनिधित्व मात्र हो ।
देशको अवस्था सुध्रने र आफ्नै देशमा केहि गर्ने ईच्छा भएका युवामा छाएको निरासा पक्कै पनि राम्रो हैन । समस्याको दिर्घकालिन समाधान खोज्नको लागि नलागेमा अझ अवस्था बिग्रने निस्चित छ । देशमा युवा नै छैन्न भन्ने दिन नआऊला भन्न सकिन्न , त्यस्तो दिन कहिले पनि नआवोस भनेर प्राथना गर्नु बाहेक बिकल्प छैन ।
यो सबै समस्याहरुको जिम्मा राजनितिलाई मात्र लाऊनु ठिक हो जस्तो लाग्दैन, गल्ती हामीबाट पनि भएको छ । परिवर्तनको ठेक्का हामीले राजनितिक पार्टी वा चुनाव जितेर गएकालाई मात्र दिएका छौ । चुनावमा भोट हालेर जिताएर पठाउनु भनेको चै सबै जिम्मा दिएर पठाउनु वा ऊनिहरुलाई ठेक्का दिनु हो भन्ने हाम्रो सोचाई छ ।
निति निर्माण गर्ने , बिकासका योजना बनाउने आदि देखी लिएर बाटो, पुल आदि बनाऊने , सहर वा गाऊ सफा गर्ने आदि जस्ता सम्मको जिम्मा जितेर गएकाहरुको मात्र हो भनेर हामी पन्छने गरेको पाईन्छ । सोझो रुपमा भन्नु पर्दा देश बनाऊने ठेक्का हामीले मात्र चुनाव जितेर होस वा अन्य प्रक्रिया वाट चुनीएका केही गन्न सकिने व्यक्तिहरुलाई दिएका छौ र ऊनिहरुले पनि ठेक्का लिए तरिकाले काम गरिरहेको पाईन्छ । तर परिवर्तनको ठेक्का लिएकाहरुले परिवर्तन सम्भब छ मात्र भन्ने गरेका छन , परिवर्तन कसरी हुन सक्छ भनेर भन्न सकेका हैनन ।
परिवर्तनको आश गरेर बसेका हामी नेपालीलाई एक पछि अर्को गर्दै आशाको दियो निब्दै गरेको पत्तो छ तर हामीले आशा गर्न छाडेका छैन । हामी मात्र आशा गरेर बसेका छौ । नेपलीहरुको यै आशाबादी व्यवहार कै फाईदा ऊठाएका हुन ठेकेदारहरुले । हामी नेपालीले सपनाहरु धेरै देख्यौ र देखाईयो । अब देखेका वा देखाएका सपना पुरा गर्दै नया सपना बनाऊने नगरे सपना देख्ने र देखाउने क्रम फेरी सुरु बाट सुरवात हुनेछ अर्थात पुरानै सपनाहरु दोहोरिन थाल्नेछ र हामी तिनैमा भुलिने छौ ।
अब पनि सपना देखाऊने र परिवर्तन गर्ने ठेक्का चुनाव जितेर पठाएकालाई मात्र दिने हो भने परिवर्तनको सम्भावना न्युन छ । मैले ऊदाहरण दिएर यो कुरामा चै यस्तो भईरहेको छ भनेर भन्न चहिन । तर सामन्य तरिकाले नाङगो आखाले हेर्दा मुलुक जिन्दाबाद र मुर्दाबादको राजनितिबाट मात्र बिकास हुन सक्दैन भन्ने कुरा हामीलाई भुत र बर्तमानले सिकाईसकेको छ । नेपालमा आर्थिक क्रान्ति आवश्यक छ भनेर चिया पसल देखि संसद सम्म सुनिने कुरा हो तर कस्तो क्रान्ती भनेर चै सुनिएको छैन हामीले जान्न पनि चाहेनै होला । राजनितिमा लागेर आफुलाई नेता हु भन्नेहरुले देशमा आर्थिक क्रान्तीको आवश्यकता छ भनेर गरेको भाषणहरु यत्र तत्र सुन्न सकिन्छ ।
मैले अहिले सम्म बुज्न नसकेको कुरा सडकमा जिन्दाबाद र मुर्दाबादको नारा लागाउदा वा भाषण गर्दा कसरी हुन्छ क्रान्ती ?? अहिले सम्म राजनितिक पार्टिले युवाहरुलाई आफ्नै देशमा केहि गर्न सकिन्छ भनेर सिप प्रदान गर्ने तालिम वा कार्यक्रम आयोजना गरेको सुनेको छैन । राजनितिलाई पेशा हैन सेवा बनाऊनु अहिलेको आवश्यकता हो ।राजनितिक पार्टिहरुले भनौ या चुनव जितेर गएकाहरुले अब युवालाई देशमा नै राख्ने ऊपाय वा योजना वा भिजन जे भने पनि हुन्छ त्यस्को सुरुवात गर्न जरुरी छ अनि मात्र म जस्तो लाखौ युवाहरुले राजनितिलाई नकरात्मक तरिकाले हेर्ने छैनन साथै राजनितिलाई अपनाऊने छन जस्ले देशको बिकासमा पक्कै टेवा पुग्नेछ ।
साथै हामी युवाहारुले पनि सकरात्मक सोच राखेर नया तरिकाले योजना बनाएर बिकासका काममा हतेमालो गरेर अघि बढ्न जरुरी छ नभए हामीले वा हाम्रो पुस्ताले जुन दु:ख वा सिनारियो अहिले भगिरहेका छौ अर्को पुस्ताले पनि यसैमा रुमलिनु पर्नेछ ।