ती जोसिला भाषण गर्नेहरू आज कता होलान्?

२०६२/६३ को जनआन्दोलन हुँदा मेरो उमेर ११ वर्ष थियो। चैतको महिना। आन्दोलनको उबार चलेको थियो। म अन्तिम परीक्षा दिएपछि फुर्सदमा थिएँ। विद्यालय बिदा थियो। परीक्षा सकिएपछि मामाघर बिदा मनाउन जाने चलन जस्तै थियो। म बविया बिर्ताको धिमधिमे भन्ने ठाउँमा अवस्थित मामाघर गएको थिएँ।

विराटनगरबाट १६ किलोमिटर पूर्व कर्सिया बजार पर्छ। त्यहाँबाट करिब ८ किलोमिटर उत्तर गएपछि बविया बिर्ता, बविया बिर्ताबाट दुई किलोमिटर पूर्व जाँदा धिमधिमे पुगिन्छ। सधैँ जसो परीक्षा बिदामा हामी मामाघर जाने गर्दथ्यौँ। मन मौजी खेल्न, कुद्न अनि हजुरबुवासँग खेत घुम्न पाउने भएकोले आनन्दको अनुभव हुन्थ्यो।

हजुरबुवा खेतमा हुने काम निरीक्षण गर्न जानु हुन्थ्यो। उहाँ सँगसँगै म गएपछि हजुरबुवाको अर्को काम थप हुने गर्दथ्यो, मेरो रेखदेख। खेतमा हिलो खेल्न, पैनीको पानीमा पस्दै निस्कँदै गर्दाको आनन्द छुट्टै हुन्थ्यो। छुट्टी मनाउन आफ्नो आफ्नो मामाघर आउने अरू साथीहरू पनि हुन्थे। साथीहरूसँग होलीमा माछा मार्न र पौडी खेल्न पनि पाइन्थ्यो। यस्तै रमाइलोले पनि मलाई घरीघरी मामाघर तिर तानिरहन्थ्यो।

मामाघर पुगेको केही दिनमा नै जनआन्दोलनको हावाहुरी चलेको थाहा भयो। चोकको चिया पसलमा बेलुकीपख मामाहरू जुट्नु हुन्थ्यो। चिया बसाइँमा मैले केही रोचक कुराहरू पनि सुन्थेँ। उहाँहरू ‘वार कि पार हुन्छ’ भन्नुहुन्थ्यो। आर्मी परिचालन हुन्छ। गोली पनि हान्न सक्छ। माओवादी त बन्दुकसहित आउँछन्, गाउँमा यस्तै परिचर्चा चल्थे।

अर्को दिन मामा आन्दोलनमा सरिक हुन जाने कुरा थाहा पाएँ। म पनि आन्दोलनमा जान भनेर कस्सिएँ। यो कुरा मामालाई सुनाएँ।

‘तिमी नजाऊ भिडभाड हुन्छ,’ भन्नुभयो। के होला कसो होला भन्दै उहाँले नजान भन्नुभयो। हजुरआमाको पनि त्यही जोड थियो। ‘नजाऊ बाबु हुँदैन जान’ भनेर फकाउनु भयो। तर मैले जिद्दी गरिरहेँ। अन्ततः जान दिनुभयो।

मामाको साइकल पछाडि बसेँ। ३०/३५ जनाको टोली थियो। साइकलका लस्कर बजार तिर लम्किए। कर्सिया बजार पुगियो। तर हिँडेर गएभन्दा धेरै समय लागेको थियो। बजारमा मानिसको भिड थियो। हात हातमा विविध रङका झन्डा बोकेका छ। एकैछिनमा ठुलो हुल पश्चिम तिरबाट हामी भएतिर आएर संगठित भयो।

मामाले साइकल कसैलाई जिम्मा लगाउनु भएछ। मलाई पनि साइकलमा बसेर जान इसारा गर्नुभयो। तर म नमानेर टाउको हल्लाउँदै भिडतिर पसिहालेँ। मैले आन्दोलन अगाडि बढ्दै थियो।

‘हामी कहाँसम्म हिँड्ने हो?’ मामालाई सोधेँ।

‘बेतना’ भन्नुभयो। धेरै टाढा छ नगएको भए पनि हुने थियो भन्नुभयो। तर म मानिनँ। मामा अलि अगाडि बढ्नु भएछ।

म पहिलो लहरका मानिसभन्दा पछि थिएँ। नाराबाजी हुँदै थियो। जिन्दाबाद र मुर्दावादको नारा म पनि लगाइरहेको थिएँ। रमाइलो महसुस भएको थियो। ‘राजतन्त्र मुर्दावाद, ज्ञानेन्द्र चोर देश छोड, निरङ्कुशता मुर्दावाद’ यस्तै यस्तै नारा लाग्दै थिए। म पनि सारमा सार मिलाउँदै ठुलठुलो स्वरमा नारा लगाउँदै थिएँ। नेतृत्वकर्ताले भाका मिलाएर भनेपछि अरूले त्यही दोहोर्‍याइरहेका थिए।

बेतना पुग्दा पुलिसले बल प्रयोग गर्ला, अश्रुग्याँस हान्ला नभए गोली नै बर्साउला भन्नेमा धेरै आन्दोलनकारी सावधान थिए। केही हताश र डराए जस्तो पनि देखिएका थिए। ‘राजाले गोली हान्ने आदेश दिएको होलान्’ भिडमा भएकाहरू कुरा गरेको सुन्थे। तर सबैको अनुमान गलत साबित भयो। कुनै बल प्रयोग भएन। कोणसभा भयो।

वक्ताहरू हाते माइकमा खुब जोसिँदै भाषण गर्दै थिए। मलाई उकुसमुकुस लागिसकेको थियो। उद्घोषकले पालैपालो नेताहरूलाई बोल्ने समय दिए। ‘आजको हाम्रो आन्दोलन यही सकियो’ उनले घोषणा गरे। अब मामाघर फर्कनु थियो। साइकल कर्सियामै छाडी आएकोले एउटा ट्याक्टरमा चढ्न मामाले इसारा गर्नु भयो। त्यसमै बसेर घरसम्म आइयो। भोलि फेरि मामाको पछिपछि लागेर म पनि गएँ। मामा मलाई छक्काएर जान खोज्नु भएको थियो। त्यो दिन मानिसहरू झन् धेरै थिए। क्रम त्यही चल्यो। नाराबाजी अनि भाषण। केही मानिस गीत गाएर नाच्दै अघि बढ्दै थिए। आन्दोलनबाट राजाले गद्दी छाड्नु परेको थियो।

आन्दोलन सकिएको १९ वर्ष भइसकेछ। १९ वर्षपछि म अहिले यो कथा लेख्दै छु तर आन्दोलनका दिनहरू सम्झँदा मेरो मन अझै पनि उत्साहले भरिन्छ। मामाको पछाडि लुकेर म त्यो विशाल भिडको एक सानो हिस्सा थिएँ तर त्यस दिन म आफैँलाई केही महत्त्वपूर्ण ठानिरहेको थिएँ। आन्दोलनको ती स्वरहरू, नाराहरू र नेताहरूका भाषणहरूले मेरो बाल मस्तिष्कमा गहिरो प्रभाव पारेर बसेका रहेछन्।

साइकलमा मामासँगको हिँडाइ, ट्याक्टरमा फर्काइ अनि आन्दोलनका नारा र जनसमूह। ती दिन मेरो लागि अविस्मरणीय रह्यो, जसले मेरो जीवनलाई प्रभावित गरिरहेको छ। बाल्यकालको त्यो निस्वार्थ उत्साह र निर्भीकता आजको दिनसम्म पनि मेरो मनमा जीवित छ। जनताको आवाजले सत्ता धारकको सत्ता हल्लाउन सक्छ भन्ने प्रमाणित भएको समय थियो। ती दिनहरूका सम्झनाले आज पनि मलाई परिवर्तनशीलता सम्भव छ भन्ने प्रेरित गर्छ।

त्यो कालखण्डमा ऊर्जाका साथ जोसिला भाषण गर्नेहरू आज कता के गर्दै होलान्?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top